मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सुरु



काठमाडौँ । वर्षा यामसँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिएको छ । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ ।

साहसिक खेल रुचाउने पर्यटकको मागअनुसार थप एक वटा सहित दुई वटा बेलुन उडान सुरु गरिएको हो ।  हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन् । पोखराको पामेमा सञ्चालित यसमा एकटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५०० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० अमेरिकी डलर र विदेशी पर्यटकका लागि १३० अमेरिकी डलर शुल्क तोकिएको छ ।

करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए । बिहान र बेलुका गरी दुई सिफ्टमा उडान हुन्छ। बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्