सम्झाना दासको परिवारलाई प्रदेश सरकारको सहयोग



जनकपुरधाम: एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश २ सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

 

प्रदेश  २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मंगबार आफनो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहतस्वरुप बेटी बचाउ बेटी पढाउ योजनाबाट उक्त रकम दिने घोषणा गरेका हुन् । 

 

उनले एसिड आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारको लागि यसअघि नै प्रदेश सरकारले १ लाख दिने निर्णय गरिसकेको जनाउँदै सम्झनाकाे जीवन रक्षा गर्न नसकिएकाे प्रति दुःखसमेत व्यक्त गरे । साथै उपचारत १५ वर्षीया सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेकोसमेत जनाए । 

 

यसैबीच मुख्यमन्त्री राउतले उक्त एसिड आक्रमणको छानबिन गरी दोषीउपर कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय तथा कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई आवश्यक निर्देशनसमेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्