
काठमाडौँ । ठुला चाडपर्व नजिकिएसँगै कुखुराको मासुको मूल्य बढाउन थालिएको छ । जिउँदो कुखुरा बिक्री गर्ने व्यवसायीहरूको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले एक साता अवधिमै जिउँदो कुखुराको मूल्य किलोमा २० रुपैयाँले बढाएको हो । जिउँदो कुखुराको मासुको मूल्य बढेसँगै ब्रोइलर कुखुराको तयारी मासुको बिक्री गर्ने खुद्रा बिक्रेताहरू मासुको मूल्य किलोमा ३० रुपैयाँले बढाएका छन् ।
२५ भदौमा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले जिउँदो ब्रोइलर कुखुराको मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ बनाएको थियो । सङ्घले किलोमा १० रुपैयाँले मूल्य बढाएकै दिन खुद्रा बिक्रेताले प्रतिकिलो १५ रुपैयाँले तयारी मासुको मूल्य बढाएर ३७५ रुपैयाँ पुर्याएका थिए । यसअघि तयारी मासुको प्रतिकेजी मूल्य ३६० रुपैयाँ थियो ।
यस्तै २७ भदौमा बिक्री सङ्घले थप १० रुपैयाँले वृद्धि गरेर तयारी कुखुराको कोल्ड स्टोर मूल्य ३६० रुपैयाँबाट बढाएर ३७० रुपैयाँ पुर्याएको थियो । सातामै दोस्रो पटक मूल्यवृद्धि पछि बजारमा तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य ३९० रुपैयाँ पुगेको छ । बजारमा माग बढेको र उत्पादनमा सीमितता भएका कारण मूल्य स्वाभाविक बढेको सङ्घले बताएको छ । बजारमा प्राथमिक खाद्यान्नको मूल्यमा मनपरी भइरहँदा नियमनकारी निकाय वाणिज्य विभाग भने नेतृत्वविहीन छ ।