अस्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीलाई छात्रवृत्ति बढाउन आग्रह



काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित,मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे

उनले धेरै नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यको रुपमा अस्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको सङ्ख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थी लाभान्वित हुन सक्छन्  बताए ।

 विद्यार्थीहरू सँगै विभिन्न पेसा र व्यवसायमा संलग्न ठुलो सङ्ख्यामा नेपालीहरू अस्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलिया र नेपालका बिचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी पनि व्यक्त गरे ।

राजदूत भोल्कले अस्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराए ।

राजदूत भोल्कले नेपाललाई अस्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्