
काठमाडौँ । नेपाल टी–२० लिग खेलेका काठमाडौँ नाइट्सका खेलाडी तथा प्रशिक्षकले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।
उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् ।
उनले आफूहरूले पाउनु पर्ने रकम निकासका बारेमा क्यानबाट कुनै पहल नभएमा आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् । लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौँ नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।