चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण



काठमाडौँ । एसियाली विकास बैङ्क (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ।एडिबीले गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने प्रक्षेपण  गरेको हो ।

सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्षसहित बजेट ल्याएको थियो । गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६।२ प्रतिशत हुने एसियाली विकास बैङ्कले अनुमान गरेको छ । गत आर्थिक वर्षमा ७ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएकोमा नेपाल राष्ट्र बैङ्कले पनि सोही अनुसार मौद्रिक नीति तर्जुमा गरेको छ । एडिबीले बुधवार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत घाटामा रहेको चालु खाता चालु आवमा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता ३३ महिनापछि बचतमा गएको तथ्याङ्क नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्