
काठमाडौँ । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानाडाबीचको सम्बन्ध तनावग्रस्त बनेको छ । मङ्गलवार सम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधवार एक अर्का विरुद्ध थप दबाब बनाएका छन् ।मङ्गलवार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो । त्यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ ।
भारतले क्यानडामा रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन, क्यानडामा भारत विरोधी गतिविधिहरू सहित क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न र सतर्क रहन भन्दै कुनै अप्ठेरो परेको खण्डमा भारतीय नियोगहरूलाई जानकारी गराउन भनेको छ ।भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ , ‘क्यानडामा बढ्दो भारत विरोधी गतिविधिहरू र राजनीतिक रूपमा माफ गरिएको घृणित अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै, त्यहाँका सबै भारतीय नागरिकहरू र यात्राको तयारीमा रहेकाहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह छ । भारतीय नागरिकहरूलाई क्यानडामा भारत विरोधी एजेन्डाको विरोध भइरहेका क्षेत्र र सम्भावित स्थानहरूमा यात्रा नगर्नु होला । क्यानडामा बिग्रिएको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध छ । क्यानडामा रहेका भारतीय नागरिकहरू र विद्यार्थीहरूले पनि ओटावामा रहेको भारतीय उच्चायोग वा टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा उनीहरूको सम्बन्धित वेबसाइटहरू वा मद्दत पोर्टल madad.gov.in मा आफ्नो अवस्था दर्ता गर्नुहोला । यसले उच्चायोग र महावाणिज्य दूतावासलाई कुनै पनि आपत्कालीन वा अप्रिय घटनाको अवस्थामा क्यानडामा रहेका भारतीय नागरिकहरूसँग राम्रोसँग सम्पर्क गर्न सहयोग पुर्याउने छ’, विज्ञप्तिमा उल्लेख छ ।
क्यानडाले मङ्गलवार राति ट्राभल एजभाइजरी अपडेट गर्दै आफ्ना नागरिकलाई भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो । क्यानडाले ट्राभल एडभाइजरी जारी गर्दै अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको थियो ।मङ्गलवार जारी क्यानडाको ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतङ्कवाद, उग्र वाद, अशान्ति र अपहरणको खतरा छ ।’ गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।