
काठमाडौँ । सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबिच भएको झडपको हप्तौँ नबित्दै फेरि हिन्दु र मुस्लिम समुदायबिच झडप भएको छ। आज (बिहीबार) पनि सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ स्थित गणेश चतुर्थीको मूर्ति सेलाउन जाने क्रममा झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडप नियन्त्रण गर्ने ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
झडपको क्रममा केही व्यक्ति घाइते समेत भएको र उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको स्थानीय बताएका छन् । मूर्ति सेलाउने क्रममा हिन्दु समुदाय माथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथि बाट तातो पानी र ढुङ्गा फालेको स्थानीय हिन्दु पक्षधरहरूले बताएका छन् । केही दिन अगाडि भएको झडप पश्चात दुई समुदायका बिच सद्भाव कायम गर्न र्याली समेत निकालिएको थियो तर आज पुनः झडप भएको छ।
जिल्ला प्रशासनद्वारा कार्यालय सर्लाहीले भने सो क्षेत्रमा कर्फ्यु लगाएको छ । मिति २०८० असोज ४ गते बिहीबार राती मूर्ति सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साबिक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गा मुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन जान सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्म) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज मिति २०८०।०६।०४ गते बिहीबार राती १०:०० बजे देखी अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।