पूर्व मन्त्री खेमराज भट्टको निधन



काठमाडौँ । पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौँको वीर अस्पतालमा उपचाररत क्रममा मृत्यु भएको हो ।  उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी गराएका हुन् ।साथै आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेता हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । त्यति बेला मायालु त्यति बेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

२०५६ सालमा बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा उनी निर्वाचित भएका थिए । २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासन मन्त्री भएका थिए । २०७० सालमा भने उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । खेमराज पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा पटक–पटक जेलसमेत परेका थिए ।

प्रतिक्रिया दिनुहोस्