
काठमाडौँ । सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग औपचारिक छलफलमा बस्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सरोकारवाला मन्त्रीहरूबिच छलफल भएको छ ।
छलफलमा आन्दोलनरत शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए । शिक्षकहरूसँगको छलफलअघि कार्यबहाक प्रधानमन्त्री समेत रहेका खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग शिक्षकका माग र सम्बोधन गर्न सक्ने विषयबारे कुराकानी गरेका थिए ।
मन्त्रीहरूबिचको छलफलपछि केही बेरमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिबिच वार्ता हुने मन्त्री गुरुङले बताए । उनले भने, ‘हामीबिच शिक्षकहरूले अघि सारेका मागबारे बुँदागत रूपमा छलफल भयो । अव उहाँहरूसँग केहीबेरमा छलफल गर्छौ र आजै शिक्षकहरूसँगको वार्ता अन्तिम टुङ्गो लगाउँछौ ।’