चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएको भन्दै माओवादी परित्याग



काठमाडौँ । आफ्नै पार्टीको सरकार हुँदा पनि स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा सरकारले कारबाही नसकेको भन्दै माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी सङ्गठनका केन्द्रीय सदस्य डाक्टर दीपकप्रसाद कोइरालाले राजीनामा दिएका छन् । नेपाल प्रगतिशील चिकित्सक सङ्घका केन्द्रीय सदस्य रहेका कोइरालाले राजीनामा दिएका हुन् । नेपाल प्रगतिशील चिकित्सक सङ्घका केन्द्रीय सदस्य रहेका कोइरालाले गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टी र स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

 डाक्टर कोइरालाले राजीनामा पत्रमा उल्लेख गरेका छन्,  ‘जबसम्म गैरजमानती हिरासतको कडा कानुन बन्दैन तबसम्म म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वास्थ्य विभाग वा अन्य कुनै पार्टीको निकायमा नरहेको जानकारी दिँदै आजको मितिदेखि राजीनामा दिएको छु । आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठी चार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु सह्य भएन ।’

पोखराको मणिपाल घटनाका सन्दर्भमा बिना आरोप नेपाल प्रगतिशील चिकित्सक सङ्घका गण्डकी प्रदेश अध्यक्षलाई एक दिन हिरासतमा राख्नु झनै लज्जास्पद भएको उनले बताएका छन् । डाक्टर कोइरालाले यस्तो अवस्थामा पार्टीमा रहनु आत्मगलानी महसुस भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्