
एजेन्सी – अफगानिस्तानका २४ वर्षीय तीव्र गतिका बलर नविन उल हकले ओडिआई क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । अर्को सातादेखी भारतमा सुरु हुने विश्वकपपछि उनले ओडिआई क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएका हुन् ।
उनले २०१६ मा मिरपुरमा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । ७ ओडिआई खेलमा उनले १४ विकेट लिएका छन् । २७ टि२० आई खेलमा ३४ विकेट लिएका छन् । टि२० आई खेललाई भने उनले निरन्तरता दिने जनाएका छन् । गत सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) नविनले लखनऊ सुपर जायन्ट्सबाट खेलेका थिए ।
टि-२० टोलीमा निययमित अफगानिस्तानको टोलीमा रहेपनि ओडिआईमा मौका पाउन सकेका छैनन् । २०२१ यता उनले कुनैपनि ओडिआई खेल खेलेका छैनन् ।तरपनि अफगानिस्तानले उनलाई विश्वकप टोलीमा बोलाएको छ । विश्वकप अघि अफगानिस्तानले बिहीबार दक्षिण अफ्रिका र मंगलबार श्रीलंकासँग वार्मअप खेल खेल्नेछ ।
विश्वकपमा अफगानिस्तानले शनिबार धर्मशालामा बंगलादेशसँग खेल्दै सुरुवात गर्नेछ । १० टोली सहभागी विश्वकप अक्टोबर ५ देखी १९ नोभेम्बर सम्म भारतमा हुँदैछ । अफगानिस्तानलाई अन्डरडग टोलीको रुपमा हेरिएको छ ।