एनआरएनएको ११ औँ महाधिवेशनमा केन्द्रीय सचिव पदका उम्मेदवार दयानिधि ५ एजेण्डासहित अभियानमा



काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनमा केन्द्रीय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लागेका छन् । हाल एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी सङ्गठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जबाफदेही संस्था र गैर आवासीय नेपालीहरूको हकहित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरूबिच भाइचारा, आत्मीयता एवं सङ्गठनात्मक एकताको लागि सचिव पदमा उम्मेदवारी दिने निधो गरेको जनाए ।

अहिले एनआरएनए अग्रज र डेलिगेट्ससंग निकट रहेर काम गरिरहेका सापकोटा चुनावी अभियानकै क्रममा बिहीबार बहराइन पुग्ने कार्यक्रम छ । त्यहाँबाट युरोप भ्रमण गरी अक्टोबर पहिलो साता नेपाल पुग्ने योजना सापकोटाले बनाएका छन् । आइसिसी सदस्य हुँदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसकेका शालीन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरूमा यस पटक पनि साथ सहयोग गर्न अपिल गरेका छन् ।

को हुन् सापकोटा ?

बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका हुन्  दयानिधि ।स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौँको सङ्करदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । a

अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहाँ युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैली मात्र अनुभव गरेनन्, इटालियन सेफ हुँदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेस्टुरेन्ट खोले । करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ मा बेलायत आइपुगेका थिए । ५ विभिन्न भाषामा दख्खल भएका सापकोटाले  युके लेस्टरमा दुई इटालियन रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

लेस्टर, लन्डन रोडमा सन् २०१३ मा स्थापित ओजीको सफलतापछि उनले गत वर्ष मेल्टन रोड सिस्टन लेस्टरमा बिस्ट्रो ओजी सुरु गरे । बेलायतमा उनी सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्