विरासत फर्काउन एक हुँदै कोइराला परिवार



काठमाडौं:  नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् ।हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ।

उनीहरू तीनै जना १३औं महाधिवेशनबाट ब्याक भएको आफ्नो परिवारको राजनीतिक यात्रालाई एक भएर थाम्नेगरी अघि बढेका हुन् । यसको संकेत उनीहरूले आइतबार मोरङमा भएको एक कार्यक्रममा एउटै मालामा बाँधिएर गरेका छन् । तीनै नेताले कोइराला परिवारको कर्मथलो कोइराला निवासलाई साक्षी राखेर आइतबार ऐतिहासिक घोषणासमेत गरेका छन् ।

सोहीक्रममा महामन्त्री शशांकले आगामी नेतृत्वबारे शेखरप्रति संकेत गर्दै भने, ‘मलाई बीपीले त्याग गर्न सिकाउनुभएको छ, हिजो परशुनारायण चौधरीलाई बीपीले प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएकै हो, मैले नि शेखर’दाका लागि सभापतिको पद त्याग किन नगर्ने ?’डा. शशांकले यसो भन्दैगर्दा कार्यक्रममा उपस्थित हजारौं कार्यकर्ताले तालीले स्वागत गरे ।

कार्यक्रममा डा. शेखरले समेत आफ्ना पुर्खाको सपना तीनै जना एक भएर पूरा गर्ने प्रतिबद्धता जनाए । ‘हाम्रा पुर्खाहरूको सपना हामी तीन नेता मिलेर पूरा गर्छौं, हिजो पनि हामी एकठाउँ थियौं, आज पनि छौं र भोलि पनि हुनेछौं, यसमा कार्यकर्ताको सहयोग आवश्यक छ,’ डा. शेखरले भने । उनले सोमबार साँझ भने, ‘कार्यकर्तामाझ हामी एक छैनौं भन्नेखालको बुझाइ रहेछ, त्यो बुझाइ गलत हो भन्ने सन्देश हामी तीनै जनाले विराटनगर आएर दिएका छौं ।’

नेता शेखरले शशांकले आफ्ना लागि सभापति छाड्ने संकेत गरेको भन्दै भने, ‘शशांकले भन्नुभयो, मैले मै हुँ भन्ने कुरा होइन, कांग्रेसलाई दह्रो बनाउनु छ, कसले बनाउन सक्छ, त्यो सभापति हुन्छ ।’अर्की नेत्री सुजाताले समेत दुवैको भनाइमा सहमति जनाउँदै कोइराला परिवार बलियो बन्दा कांग्रेस बलियो हुने बताइन् । उनले पार्टीलाई पुरानै स्थितिमा फर्काउन पनि कोइराला परिवारबाट नेतृत्व आवश्यक रहेको स्पष्ट पारिन् । ‘कोइराला परिवार बलियो हुँदा कांग्रेस बलियो भएको इतिहास छ, हामी त्यही इतिहास बनाउन एकठाउँ छौं र रहनेछौं, कांग्रेस पुरानै स्थितिमा पुग्छ,’ नेत्री सुजाताले भनिन् ।

केही समय अघिसम्म सभापति शेरबहादुर देउवासँग निकट रहेका भनिएका महामन्त्री कोइराला पछिल्लो समय रुष्ट हुँदै आएका छन् । उनले पार्टीभित्र सभापतिले गरेका निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाउँदासमेत साथ दिँदै आएका थिए ।

यस्तै, केही अघिसम्म उनी आफू नै आगामी १४औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार हुने भन्दै देश दौडाहामा थिए । तर, पछिल्लो समय नेत्री सुजाताले आफ्नो निवासमा भेटघाटलाई बढाएपछि कोइराला परिवार एक हुनेगरी अघि बढेको देखिएको हो । नेत्री कोइरालाले केही दिनअघि मात्रै सभापति देउवा समूहबाहेकका नेतालाई मण्डिखाटारस्थित आफ्नो निवासमा भेला गराएर राजनीतिक लबिइङ देखाएकी राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्