वैदेशिक रोजगार विभागका ७ ‘दलाल’ पक्राउ



काठमाडौं : प्रहरीले वैदेशिक रोजगार विभागबाट सातजना बिचौलिया पक्राउ गरेको छ । विभागबाट चाँडो श्रम स्वीकृतिको कागजपत्र मिलाइदिने भन्दै कमिसनबापतको रकम असुल्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोल्टीमोडस्थित विभागको कार्यालयबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङकी २५ वर्षीया सीता मगर, गोरखाकी ३० वर्षीया सिर्जना मगर, सिन्धुलीका ३२ वर्षीय पुष्प राई, काभ्रेका २५ वर्षीय भरत तामाङ, विराटनगरका ४३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, खोटाङका २४ वर्षीय एम गिरी र कीर्तिपुरका ५० वर्षीय रविराज बाँस्कोटा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले बाटो हिँड्दै गरेका सर्वसाधारणलाई समेत तानेर श्रम स्वीकृतिको कागजात मिलाइदिने भन्दै दुःख दिने गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले सर्वसाधारणलाई दुःख दिने गरेको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको बताए ।

‘यिनीहरूले विभागआसपास रहेर श्रम स्वीकृति लिन पुगेका सर्वसाधारणलाई कागजात छिटो मिलाइदिने प्रलोभन दिने गरेको खुल्यो । त्यसबापत केही रकम पनि लिने गरेको पाइयो,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्