निर्मला हत्या अनुसन्धानमा प्रहरीकाे उपलब्धि शून्य



कञ्चनपुर : भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ ।

 

ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो ।

 

घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धान प्रगति शून्य जस्तै छ ।

 

‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन’, कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले भन्नुभयो– ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन।’ उहाँले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गर्नुभयो ।

 

अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले पनि सघाइरहेको छ ।

 

गत भदौ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धीरु बस्नेतको संयोजकत्वमा समिति पुनर्गठन गरी फेरि अनुसन्धानका लागि कञ्चनपुरमा रहेको छ । तर यो समितिले पनि अहिलेसम्म ठोस प्रमाण पनि जुटाउन सकेको छैन । प्रहरीले हत्याराको कुनै सुइँको पाउन सकेको छैन । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्