बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा



हेटौँडा: गङ्गामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्दै गरेको सञ्चार माध्यममा सार्वजनिक भएपछि उपचारार्थ अस्पताल लगिएको छ  । प्रधानमन्त्री कार्यालयले गङ्गामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङ्गको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र राक्सिराङ गाउपालिकाका अध्यक्ष मल्ल गंगामायाको उद्धार गरी उपचारका ल्याउन आफै लाग्नु भएको थियो ।राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आउनुभएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरुको डरका कारण असफल भएको थियो । गाउँपालिका उपाध्यक्ष हिम्डुङ्गले केही हुँदैन डर मान्नु पर्दैन भन्दै सम्झाइबुझाई गरेपछि उपाध्यक्षको साथ लागेर अस्पताल आमा राममायासँगै गङ्गामाया आउनुभएको हो ।

अस्पतालमा गङ्गामायाको प्रारम्भिक जाँच गरिएको छ । उपचारमा संलग्म हेटौँडा अस्पतालका डाक्टर निशा राईले बाल अवस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताउनुभयो ।

प्रारम्भिक जाँचबाट पेटमा रहेको बच्चा ३४ हप्ता पुगेको जस्तो देखिन्छ, डाक्टर राईले भन्नुभयो, थप जाँच गरेर आमा र शिशुलाई सुरक्षित गर्ने उपाय अपनाउनु पर्छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी र राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लमार्फत् प्रजाको उपचार र उद्धारका लागि सरकारले पहल थालेको गोरखापत्रमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्