इटालीमा पुलबाट बस खसेर आगलागी हुँदा २१ जनाको मृत्यु



काठमाडौँ । मिथेन ग्यासबाट गुडिरहेको बस इटालीको भेनिसमा मङ्गलवार पुलबाट खसेको छ । जसका कारण बसमा आगलागी हुँदा दुई बालबालिका तथा विदेशी पर्यटकसहित २१ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मेयर लुइगी ब्रुगनारोले फेसबुकमा यो दुर्घटनाको जानकारी दिएका छन् ।

भेनिस क्षेत्रका गभर्नर लुका जाइयाले मृत्यु हुनेको सङ्ख्या कम्तीमा २१ रहेको र २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको बताए। शव निकालेर पहिचान गर्ने प्रयास भइरहेको उनले बताए । मारिने र घाइते हुनेमा इटालियन मात्र नभएर धेरै देशका मानिसहरू रहेका छन् ।

सिटी हलका एक अधिकारीले मृतकमा युक्रेनी पर्यटक रहेको बताएका छन् भने इटालियन समाचार एजेन्सी एएनएसएले जर्मन र फ्रान्सेली नागरिक पनि मृतकमा रहेको बताएको छ । सहरका एक अधिकारीले घाइतेमध्ये तीन युक्रेनी, एक क्रोएसियाली, जर्मन र फ्रान्सेली नागरिक रहेको बताएका छन् ।बस भेनिसको ऐतिहासिक केन्द्रबाट क्याम्पिङ साइटमा फर्कँदै गर्दा दुर्घटना भएको हो ।

मिडिया रिपोर्टका अनुसार बस अवरोध तोडेर पुलबाट करिब ३० मिटर (१०० फिट) तल रेलवे ट्र्याक नजिक खसेको थियो। केही विद्युत तारमा ठोक्किएपछि आगलागी भएको उनले बताए । मिथेन ग्यासका कारण आगो द्रुत गतिमा फैलिएको गृहमन्त्री माट्टियो पियानटेडोसीले बताएका छन् । उनले भने, ‘मृतकको सङ्ख्या बढ्ने डर छ ।

प्रतिक्रिया दिनुहोस्