काठमाडौं : थपिएको दुई महिनामा नेविसंघको महाधिवेशन हुनेमा कांग्रेस नेताहरूले नै संशय व्यक्त गरेका छन् । विघटनको मुखमा पुगेको नेविसंघको अवधि २ महिना थप्ने केन्द्रीय कार्यसमिति बैठकले आइतबार निर्णय गरे पनि महाधिवेशन हुनेमा धेरै नेताले आशंका व्यक्त गरेका हुन् ।
आइतबार सर्वसम्मत रूपमा निर्णय हुन नसकेकाले पनि यस्तो आशंका व्यक्त भएको हो । केन्द्रीय समिति बैठकमा रामचन्द्र पौडेल पक्ष विघटनको पक्षमा थियो भने कृष्णप्रसाद सिटौला पक्ष दुई महिनामा महाधिवेशन हुन नसक्ने निष्कर्षमा थियो । पार्टीको सबैभन्दा बलियो र ठूलो भ्रातृसंस्था भएकाले पार्टीभित्रका गुट–उपगुटको प्रभाव नेविसंघमा रहँदै आएको छ ।
यस्तै, आइतबार पारित विधानले ३२ वर्षे उमेरहद लगाएर महाधिवेशन गर्न निर्देशन दिएकाले पनि असहजता रहेको नेताहरूको भनाइ छ । लामो समयदेखि महाधिवेशन हुन नसक्दा नेविसंघमा पाका विद्यार्थी नेताकै बोलवाला छ । उमेरहदका कारण उनीहरू महाधिवेशनमा उम्मेदवार बन्न नपाउने भएकाले महाधिवेशन गर्न व्यवधान अझै थपिएको आशंका नेताहरूले नै गर्न थालेका छन् ।
नेविसंघको वर्तमान पदाधिकारी र महाधिवेशन गराउन भूमिका खेल्नेहरू अधिकांश ३२ वर्षमाथिका छन् । कतिपय पदाधिकारीले उमेरहद लगाए महाधिवेशन प्रभावित पार्ने सार्वजनिक चेतावनीसमेत पार्टी नेतृत्वलाई दिँदै आएका थिए ।
तर, नेविसंघका अध्यक्ष नैनसिंह महरले २ महिनाभित्रै महाधिवेशन गरिने जनाएका छन् । पार्टी सभापतिले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएकाले महाधिवेशन हुने विश्वास उनले व्यक्त गरे । आगामी २ माघभित्र महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका बनाउने उनको
भनाइ छ ।
महामन्त्री कुन्दनराज काफ्लेले भने २ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न कठिन रहे पनि प्रयास गर्ने बताएका छन् । हिमाली क्षेत्रमा हिउँ पर्ने र तराईमा तुसारोका कारण जाडो भएर शैक्षिक संस्थाहरू बन्द हुने, विधि र प्रक्रिया पूरा गर्न समय लाग्नेजस्ता कारणले आगामी २ माघभित्र महाधिवेशन कठिन रहेको उनको भनाइ छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने विगतमा डेढ महिनाभित्रै सम्पन्न गरेको उदाहरण भएकाले थपिएको समयमा महाधिवेशन सम्भव रहेको बताए । तर, थपिएको समयमा पनि महाधिवेशन हुन नसके नेविसंघ स्वतः विघटन हुने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।