राेनाल्डाेलार्इ हराउँदै लुका मोड्रिच बने फिफा वर्ष खेलाडी



काठमाडौँ : क्रोएसियाका प्रतिभाशाली फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ ।

 

लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् ।

 

मोड्रिचको कप्तानीमा क्रोएसियाले रसियामा यही वर्ष सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । मोड्रिचले रसिया विश्वकपका सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि जितेका थिए ।

 

फाइनलमा फ्रान्ससँग पराजित भए पनि क्रोएसियाले विश्व फुटबलका शक्तिशाली टिमहरुलाई हराउँदै लोभ लाग्दो यात्रा तय गरेको थियो । यो लोभलाग्दो यात्राका क्रममा उनी नायक बने ।

 

स्पेनिस क्लब रियल मड्रिडबाट व्यसायिक फुटबल खेल्दै आएका मोड्रिच मिडफिल्डबाट स्ट्राइकरलाई बल पास गर्ने मेशिन नै मानिन्छन् । अर्कातिर उनी आफैँ पनि जुनसुकै बेला विपक्षी पोस्ट्मा धावा बोल्न माहिर फुटबलर हुन् ।

 

मोड्रिचको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले यो वर्षसहित लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । सन् २०१७/१८ सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा रियलले लिभरपुललाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्