कर्णाली प्रदेशमा दुई आयोग छिट्टै बन्ने



सुर्खेत: कर्णाली सरकारले प्रादेशिक योजना आयोग गठनको तयारी सुरु गरेको छ । सोमवारको मन्त्रिपरिषद वैठकले कर्णाली प्रदेश योजना आयोग गठन तथा कार्यसंचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरेको हो । योजना आयोग गठन तथा कार्यसंचालन आदेश अनुसार ६ सदस्यीय प्रदेश योजना आयोग बन्नेछ ।

जसमा  मुख्यमन्त्री अध्यक्ष, सरकारले नियुक्त गर्ने १ उपाध्यक्ष सहित २ सदस्य, प्रदेश सरकारको प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । साथै मन्त्रिपरिषद वैठकले कर्णाली प्रदेश कानुन आयोग गठन सम्वन्धी आदेश २०७५ पनि स्वीकृत गरेको प्रवक्ता विमला केसी बताइन् ।

७ सदस्यीय कानुन आयोगमा अध्यक्ष १, सरकारले नियुक्त गर्ने सदस्य २, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव, मुख्यन्यायधिवक्ता गरि पदेन सदस्य तीन जना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको प्रवक्ता केसी बताइन् ।

वैठकले अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७५ स्वीकृत गरेको छ भने कर्णाली पर्यटन वर्ष २०७५ अन्तरगत से–फोक्शुण्डोमा मंसिर ११ र १२ गते हुने महोत्सवमा उपराष्ट्रपतिलाई  आमन्त्रण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्