साना किसानको खुद नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घट्यो



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड(SKBBL)

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL)  ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ११ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेको छ । त्यसै गरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.८८ प्रतिशत र सञ्चालन मुनाफा २९।७० प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.७५ प्रतिशतबाट बढेर ०.८१ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १ करोड ९६ लाख रुपैयाँ छुट्टाएको छ।

नाफा बढे पनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ३३ पैसा घटेर ३६ रुपैयाँ १९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.०४ गुणा रहेको छ।३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्