सेनाको रथी बढुवामा सिफारिस भएका उपरथी पाण्डेले दिए राजीनामा



उपरथी पाण्डे

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उमेर विवादमा छानबिन गर्न अख्तियारले रक्षा मन्त्रालयलाई निर्देशन दिएपछि पाण्डेले पदबाट राजीनामा दिएका हुन् । प्रधानसेनापति प्रभुराम शर्माले वरियताको आधारमा पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गरेका थिए । रथी बढुवाका लागि पाण्डेपछि उपरथी अशोक सिग्देल र निर्मल थापा लाइनमा थिए । सिग्देलको समेत पाण्डेको जस्तै जन्म मितिमा कैफियत रहेको सैनिक अधिकारीहरूको दाबी छ ।

सेनाको युद्ध कार्य महानिर्देशक रहेका पाण्डेको रथीमा बढुवा सिफारिस भएपछि उमेर विवादमा आएसङै विभिन्न निकायमा उजुरी परेको थियो । सेनाले भने विज्ञप्ति नै निकालेर पाण्डेको उमेर विवाद नभएको प्रस्ट पारेको थियो ।

पाण्डे रथीमा बढुवा भएको अवस्थामा भावी प्रधानसेनापति बन्ने बाटोमा थिए । उनले बिहीबार पदबाट राजीनामा दिएको जनाइएको छ । प्रधानसेनापति शर्माले पाण्डेलाई रथीमा बढुवा गर्न २९ असोजमा ७ दिने सूचना जारी गरेका थिए । त्यो बिचमा प्रधानसेनापति शर्मा चीन भ्रमणमा गएर १६ कात्तिकमा स्वदेश फर्के पनि बढुवा भने अघि बढेको थिएन ।

प्रतिक्रिया दिनुहोस्