शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न निद्रा अपरिहार्य छ । सामान्यतया मानिसले दैनिक सातदेखि आठ घण्टा निदाउन जरुरी हुन्छ । निद्रा खाना जत्तिकै महत्त्वपूर्ण हुन्छ । जसले हाम्रो शरीर र मस्तिष्कलाई आराम प्रदान गर्दछ ।
तर, राम्ररी निद्रा नपर्नु, बिचबिचमा अनावश्यक निद्रा खुल्नु आदि अनिद्राका लक्षण हुन् । अनिद्रा भयानक समस्या हो । जसले दिनचर्या प्रभावित पार्नुका साथै अनेकौँ रोगको कारणसमेत बन्न सक्छ ।
अहिले अनिद्रा प्रमुख स्वास्थ्य समस्याका रुपमा विश्वभर देखा परेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार हाल विश्वमा १० प्रतिशत जनसंख्या अनिद्रापीडित छन् ।
अनिद्राका कारण मधुमेह, उच्च रक्तचाप, तौल बढ्ने, टाउको दुख्ने, तनाव हुनेजस्ता विभिन्न समस्या देखा पर्छन् । यस्तै, अनिद्राका कारण अधिकांश मानिस मानसिक रोगको सिकार समेत हुने गरेको पाइन्छ । अनिद्राबाट छुटकारा पाउन धेरै औषधि बनेका छन् ।
तर, यस्ता औषधिले अन्य समस्यासमेत निम्त्याउने सम्भावना रहन्छ । अनिद्राबाट जोगिन घरमै केही प्राकृतिक उपाय अपनाउन सकिन्छ ।
बच्ने उपाय
सुत्नुअघि तातोपानीले नुहाउने
सन् १९९८ मा गरिएको एक अध्ययन अनुसार सुत्नुभन्दा अगाडि तातो पानीले नुहाउँदा निद्रा छिटो पर्नुका साथै गहिरो सुत्ने बानीको विकास हुन्छ ।
तातो पानीका कारण शरीरमा ताप बढ्ने हुन्छ । बाहिर निस्केपछि एक्कासि चिसो वातावरणमा आउँछ । यसले मस्तिष्कका साथै शरीरका अंगहरु शिथिल हुन्छन् र निद्रा पर्दछ ।
नियमित व्यायाम गर्नुहोस्
व्यायाम गर्दा शरीरमा एक प्रकारको हर्मोन उत्पन्न हुन्छ । जसले छिटो निद्रा पर्दछ । यस्तै, नियमित काम गरिराख्ने मानिसमा अंग र दिमाग थाकिसकेको हुन्छ । फलस्वरुप चाँडो निद्रा पर्दछ ।
योग र ध्यान
पर्याप्त रुपमा निदाउन नसक्नुको अर्को मुख्य कारण तनाव हो । तनावले गर्दा निद्रा नपर्ने हुन्छ । यो बिस्तारै बानीको रुपमा विकास हुन्छ र समस्या बन्दै गएको पाइन्छ ।
योग र ध्यान गर्दा मानिसलाई तनाव कम हुन्छ । यसले मानसिक समस्याबाट राहत अनुभव हुन्छ । दिनहुँजसो योग र ध्यान गर्न सके अनिद्रा सुधार गर्न सकिन्छ ।
स्वस्थ आहार
अधिकांश रोगको कारण हामीले खाने खाना बनिरहेको छ । सुत्नुभन्दा अगाडि सकेसम्म थोरै र हलुका खानेकुरा खानुहोस् । बेलुका धेरै खानेकुरा खानाले कतिपय अंग बढी नै सक्रिय नै रहनुपर्ने हुन्छ । जसले गर्दा शरीरका अंगहरुले पर्याप्त मात्रामा आराम गर्न पाउँदैनन् । यसर्थ, सुत्नुभन्दा करिब दुई घण्टाअघि खाना खानुपर्दछ ।
सुत्ने कोठा शान्त राख्नुहोस्
राति अबेरसम्म निद्रा नपर्नुको अर्को कारण बेडरुमको वातावरण पनि हो । बेड रुमलाई सकेसम्म निद्रा मैत्री अर्थात् शान्त राख्न जरुरी छ । जहिले पनि आफू सुत्ने कोठा शान्त र आनन्द लाग्ने हुनुपर्दछ । कोठामा बाहिरी प्रकाशको व्यवस्था हुन आवश्यक हुन्छ । साथै, प्रयोगमा ल्याइने कपडा आरामदायी हुन जरुरी हुन्छ ।
बेलुका चिया, कफीजस्ता पेयपदार्थबाट टाढा रहने
बेलुका सुत्नुभन्दा अगाडि चिया, कफी डार्क चकलेटजस्ता पदार्थको सेवन गर्नुहँदैन । यस्ता चिज खाँदा निद्रा असर पुगिरहेको हुन्छ । कफीमा पाइने एक प्रकारको क्याफेइनले केन्द्रीय स्नायु प्रणालीलाई करिब पाँच घण्टासम्म सक्रिय राख्ने गर्दछ । जसले गर्दा सजिलै निदाउन सकिँदैन । तसर्थ, चिया, कफी, कोल्डड्रिंक्स, चकलेटजस्ता वस्तुबाट टाढै रहनु लाभदायी हुन्छ ।