अल नासरको लज्जास्पद हार



अल नासर

एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ । अल नासरले १० खेलाडीमा सम्मिलित शीर्षस्थानमा रहेको अल हिलालसँग ३–० को हार बेहोरेको हो । अल हिलालको जितमा एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।

खेलमा अल नासरले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा लिगमा तेस्रो हार बेहोर्न पुग्यो । यता, अल हिलालले भने पाएको मौकालाई सदुपयोग गर्दै लिगमा अपराजित रहन सफल भयो ।

किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा शुक्रबार राति ५० हजार बढी दर्शकमाझ भएको खेलको ६४औं मिनेटमा सेर्गेज मिलिन्कोभिक सभिकले गोल गर्दै अल हिलाललाई १–० को अग्रता दिलाए । उनले साउद अब्दुलहामिदको पासमा गोल गर्न सफल भएका थिए । ७५औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन ।

त्यसपछिको दुवै गोल एलेक्सान्दर मित्रोभिचको नाममा रह्यो । ८९औं मिनेटमा एलेक्सान्दर मित्रोभिचले गोल गर्दै अल हिलालको अग्रता दोब्बर पारे । उनले सलिम अल दासारीको पासलाई सदुपयोग गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्दर मित्रोभिचले सेर्गेजको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई लज्जास्पद हार चखाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अल हिलाल १० खेलाडीमा समेटिन पुग्यो । अलि अल बोलेही सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल हिलाल १० खेलाडीमा समेटियो । ११ मिनेटको समय थप गरिएपनि अल नासरले त्यसको फाइदा उठाउन सकेन ।

यस जितसँगै अल हिलालले आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म लम्ब्याउन सफल भएको छ । गत अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन । जसमा १९ जित र ३ बराबरीको नतिजा छ ।

अल हिलालसँगको हारसँगै अल नासरको २१औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । गत १९ अगस्टमा प्रो लिगमा अल तावनसँग २–० ले पराजित भएयता अल नासर अपराजित रहेको थियो । जसमा १८ जित र २ बराबरीको नतिजा छ ।

यस जितसँगै अल हिलालले आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । अपराजित रहेको अल हिलाल १५ खेलबाट १३ जित र २ बराबरीसहित ४१ अंक जोडेर शीर्षस्थानमा छ । अल हिलालले दोस्रो स्थानको अल नासरलाई ७ अंकले पछि पारिसकेको छ ।

अल नासर १५ खेलबाट ११ जित, १ बराबरी र ३ हारबाट ३४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल हिलालसँगको हारले अल नासरले अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्