नेपाल सुपर लिगमा आज डबल हेडर



नेपाल सुपर लिग

काठमाडौँ । नेपाल सुपर लिगमा आज डबल हेडरको दिन रहेको छ । सधैको शनिवारझैं आज पनि दुई खेल हॅुदैछन् । आजको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ मेची एफसीसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

अहिलेसम्म तीन खेल खेलेको धनगढी दुई जित र एक बराबरी खेल्दै अपराजित छ । धनगढीले अहिलेसम्म दुई गोल खाइसके पनि डिफेन्स र गोलकिपर मोहम्मद ताहाको वास्तविक परीक्षा हुन बाँकी छ । विदेशी खेलाडीहरूले पनि धनगढीका लागि अहिलेसम्मका खेलहरूमा बलियो छाप छाडेका छन् ।

अर्कोतर्फ, इलामको कथा अर्कै छ । इलाम चार खेलमा एक जित र तीन हारसहित तीन अंकमा छ । आधा खेल खेलिसकेको इलामले प्लेअफको बलियो दाबेदारीमा रहन आज जित्नै पर्ने दबाब छ ।

विदेशी खेलाडीले राम्रो खेले पनि टोलीले सिर्जना गरेका धेरै अवसरलाई गोलमा परिणत गर्न नसकेपछि आफ्नो पकड बनाउन सकेको छैन । अघिल्लो खेलमा पोखरा थन्डर्ससँगको हारपछि मुख्य प्रशिक्षक मेघराज केसीले पनि यस्तै बताएका थिए ।

साँझ ५ बजे हुने खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै सकारात्मक सुरुवात गरेको थियो । तर यसअघिका दुई खेल क्रमशः चितवन र झापा विरुद्ध १–१ र गोलरहित बराबरीमा सकिएका थिए ।

उता बुटवलले भने अहिलेसम्म सबै किसिमको प्रदर्शन गरेको छ– ललितपुर विरुद्धको हार, खेलको अन्तिम समयमा धनगढीसँगको हार, कप्तान एरिक विष्टको अद्भूत गोल सहितको इलाम विरुद्ध जित र चितवनसँगको खेलमा अन्तिम समयमा बराबरी गोल ।

यो भन्नु उचित छ कि बुटवलले अहिलेसम्म मध्यम प्रदर्शन गरेको छ। बुटवलले चार खेलबाट चार अंक जोडेको छ र आज जित हासिल गर्न सके दोस्रो स्थानमा सम्म पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्