पुन: नवलपुरमा युवतीमाथि एसिड प्रहार



काठमाडौं :  राैतहटकी सम्झना दासकाे एसिड प्रहारबाट भएकाे मृत्यु घटना सेलाउन नपाउँदै नवलपुरको कावासोतीमा एक युवतीमाथि एसिड आक्रमण भएको छ। सोमबार राति कावासोती नगरपालिका–१६ हरिबासकी ३० वर्षीया वसन्ती परियारमाथि एसिड आक्रमण भएको हो। उनलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड आक्रमण गरेको पूर्वी नवलपरासीका एसपी रमेश थापाले जानकारी दिए।

 

एसिड आक्रमणबाट महिलाको शरीरको २५ प्रतिशत भाग जलेको उनले बताए। एसिड प्रहार गर्नका साथै वसन्तीमाथि चक्कु प्रहार पनि भएको छ। चक्कु प्रहारबाट उनको छाती र पेटमा गम्भीर चोट लागेको एसपी थापाले जानकारी दिए। उनको चितवनको भरतपुर मेडिकल कलेज उपचार भइरहेको छ।

 

वसन्तीको श्रीमान् विदेश छन्। यी दुवै विवाहित हुन्। यही क्रममा उनीहरुबीच प्रेम रहेको बुझिएको प्रहरीले जनाएको छ।

 

विमलले विवाह गर्न प्रस्ताव गरेपछि वसन्तीले अस्वीकार गर्दा एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनापछि अहिले वसन्तीका श्रीमान् स्वदेश फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्