बैतडी: बैतडीमा मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाका लागि सजिलो भएको छ । संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्यामा वृद्धि नभए पनि मोबाइलबाटै नाम दर्ता गराउनेको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलबाटै दर्ता गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८३१ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको र स्थानीय तहले उनीहरुको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ ।
बैतडीका ग्रामीण क्षेत्रका १ सय २७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताए । जिल्लामा अहिले १ सय २७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उनले बताए । गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराको अनुभव छ ।
सुरक्षित सुत्केरी सेवा लिने बढे
बैतडीमा सुरक्षित सुत्केरी सेवा लिनेको सङ्ख्या वृद्धि भएको छ । पहिले घरमै सुत्केरी हुने महिला आजभोलि स्वास्थ्य संस्थामै पुग्ने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुन्छन् भन्ने चेतनाको विस्तार हुँदा उनिहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन पुग्ने गरेका छन् । सरकारले स्वास्थ्य संस्थामा गर्भवती आमाले स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक जाँच गराउँदा रु ८०० र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा रु दुई हजार भत्ता दिने भएकाले पनि सुरक्षित सुत्केरी सेवा लिन स्वास्थ्य संस्था पुग्नेको सङ्ख्या बढेको देहीमाडौँ स्वास्थ्यचौकीकी अनमी बोहराले बताइन् ।