विराटनगर : कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाबीच मंगलबार बिहान विराटनगरमा गोप्य भेटवार्ता भएको छ ।
देउवा बसेका होटल जेनियलमा बिहान लगभग २५ मिनेट दुई नेताबीच वार्ता भएको हो । कोइराला परिवारमा तेस्रो पुस्ताका नेता भनेर चिनिने डा. शशांक, शेखर र नेत्रृ सुजता कोइरालाले एउटै माला पहिरिएर पार्टीभित्र परिवारका सदस्य एक भएको घोषणा गरेकै भालिपल्ट सोमबार साँझ देउवा विराटनगर आइपुगेका थिए ।
राति जेनियल होटलमा बसेका देउवालाई भेट्न डा. कोइराला मंगलबार बिहानै त्यहीँ पुगेका थिए । कोइराला परिवारको एकता घोषणालगत्तै भएको दुई नेताबीचको भेटलाई पार्टीभित्र विशेष महत्वका साथ हेरिएको कांग्रेसका एक नेताले बताए ।
‘विराटनगरबाटै कोइराला परिवारका नेताले एकता घोषणा गर्नु र त्यसको भोलिपल्ट देउवा विराटनगर आइपुग्नुले पार्टीभित्र तरंग ल्याएको छ,’ ती नेताले भने, ‘त्यहीमाथि कोइराला परिवारमा एकता ल्याउन विशेष भूमिका खेल्ने सूत्राधारको काम गरेका डा. शेखरसँग देउवाको गोप्य वार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।’ दुई नेताबीचको गोप्य भेटवार्ताका क्रममा कसैलाई पनि प्रवेष गर्न दिइएको थिएन ।
'संशकित हुनुपर्ने कारण छैन'
देउवासँगको भेटपछि कोइरालाले पार्टीकै आन्तरिक विषयमा छलफल भएको जानकारी दिए । ‘पार्टी सभापति विराटनगर आएका कारण म भेट्न गएको हुँ,’ विराटनगरस्थित कोइराला निवासमा बस्दै आएका डा. शेखरले भने, ‘हाम्रो भेटलाई कुनै अनौठो र आश्चर्य मान्नु पर्दैन ।’
आगामी दिनमा पार्टीलाई कसरी एक ढिक्का बनाउने, प्रमुख प्रतिपक्षीका रुपमा कस्तो भूमिका खेल्ने, गुटगत राजनीतिलाई कसरी अन्त्य गर्ने तथा भ्रातृ संगठनमा देखिएका विवाद मिलाउनेबारे देउवासँग छलफल भएको उनले बताए ।
देउवाले पनि कोइराला परिवारबीचको एकताले आत्तिएर विराटनगर आएको भन्ने हल्लाको खण्डन गरे । ‘पार्टी कामको सिलसिलामा विराटनगर आएको हँु,’ उनले भने, ‘पार्टीभित्रकै नेताहरु एक हुँदा म आत्तिनुपर्ने कुनै कारण छैन ।’ उनले कोइराला परिवारका नेताबीचको एकताले आफू आत्तिएको नभई बरु उत्साहित भएको बताए ।
कोइराला परिवारका नेताबीचको एकताले आगामी दिनमा विवादरहित ढंगबाट पार्टी सञ्चालनमा सहयोग पुग्ने र पार्टीले गति लिने विश्वास आफूले लिएको उनको भनाइ छ । देउवाले भने, ‘एउटै परिवारका तीन नेताबीचको एकताले पार्टीलाई संगठित बनाउन थप मद्दत पुग्छ ।’
‘कोइराला परिवारसँग कुनै विवाद छैन’
कोइराला परिवारसँग कहिल्यै पनि कुनै किसिमको विवाद नरहेको उल्लेख गर्दै उनले तीन जनाको एकताले गाउँ, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रसम्मै पार्टी एकतामा सहयोग पुग्ने बताए । ‘पार्टीभित्र लुछाचुँडी गर्नेले कोइराला परिवारबाट सिक्नुपर्छ,’ देउवाले भने, ‘पार्टीभित्र मेलमिलाप र एकता हुँदा पार्टी अझ मजबुत भएर अघि बढ्छ ।’ हामी जिम्मेवार प्रतिपक्ष हौं’।'
वर्तमान सरकारका अघि प्रमुख प्रतिपक्षि दलको भूमिकामा कांग्रेस फितलो अवस्थामा रहेको भनाइलाई स्वीकार गरेका सभापति देउवाले भने, ‘विगतमा एमालेले गरेझैं ४५ दिनसम्म सदन अवरुद्ध गर्नु राम्रो हो र ? जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहेर हामीले ठाउँठाउँमा कार्यक्रम गरिरहेका छौं ।’
सभापति देउवाले नेविसंघको विवाद समाधान भइसकेको दाबी गरेका छन् । विराटनगरमा मंगलबार प्रेस युनियनले आयोजना गरेको अन्तक्र्रियामा सभापति देउवाले निर्वाचित पहिलो समिति भएकाले काम गर्न मौका दिनुपर्नेमा जोड दिए । उनले मंसिरमा हुने भनिएको महासमिति बैठक नधकेलिनेमा आफू ढुक्क रहेको बताए । महासमितिको बैठकबारे मिति तोकिसकिएको हुनाले अब फर्कन नहुनेमा देउवाले जोड दिए ।
‘विजय गच्छदारलाई विधानसम्मत उपसभापति बनाइएको हो’
विजयकुमार गच्छादारलाई विधानविपरीत उपसभापति बनाइयो नि भन्ने प्रश्नमा उनले भने, ‘दुई वटा पार्टी मिलेपछिको सहमतिको कुरा हो र यो राजनीतिक निर्णय पनि हो । त्यसैले विधानमा नभएको कुरालाई पनि सहज अवतरण गराएका हौं । सहमति कुर्दाकुर्दा ढिलो भयो, त्यसैले पार्टी बहुमतको सहारामा पुग्यो ।’
पार्टीभित्रको चर्को गुट उपगुट समाधान गर्न सभापतिले जिम्मेवारी भूमिका वहन गर्न नसकेको प्रश्नमा सभापति देउवाले कांग्रेसमा रहेको आन्तरिक प्रतिस्पर्धाले नेताहरुबीचमा बोलीचाली नै बन्द भइसकेको बताए । ‘जित र हारबीच बोलचाल नै छैन,’ उनले भने, ‘पार्टीभित्रको गुट स्वाभाविक हो । तर, एकअर्कामा बोलचाल बन्द हुनु राम्रो सन्देश हैन ।’ पार्टीभित्रको असहमतिलाई भने आफूले स्वभाविक रुपमा लिएको देउवाको भनाइ छ ।
मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले पार्टी विराटनगरमा पार्टीले आयोजना गरेको प्रदेश १ स्तरीय महाधिवेशन प्रतिनिधि प्रशिक्षण भेलामा सहभागी हुन सभापति देउवा आएका जानकारी दिए ।