प्रचण्डलाई बालेनको व्यङ्ग्य- एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार ?



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटक पटक भएको उद्घाटनको विषयमा व्यङ्ग्य गरेका छन् ।प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुकाउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको टिप्पणी गरेका हुन् ।

राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग भएको उनको भनाइ छ । सामाजिक सञ्जालमानमार्फत बालेनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’

छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक रहेको उनले भनाई छ ।

‘हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्