‘कोइराला एकताले हामी आत्तिएका छैनौं’



काठमाडौं : कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले विराटनगरमा भएको कोइराला एकताले आत्तिनुपर्ने स्थिति नरहेको बताएका छन् ।

 

कोइराला एकताले कांग्रेसको आन्तरिक शक्ति संरचना प्रभावित हुने र आगामी पार्टी महाधिवेशनमा रणनीतिक अर्थ राख्ने अड्कलका बीच पार्टी सहमहामन्त्री महतको यस्तो प्रतिक्रिया आएको हो । महत पार्टीमा वर्तमान संस्थापन पक्षमा रणनीति बनाउने नेताका रूपमा परिचित छन् । 

 

महतले कोइराला एकताको राजनीतिक अर्थभन्दा पनि पारिवारका सदस्य एकजुट भएको बुझ्नुपर्ने बताए । उनले भने, ‘व्यक्ति र परिवार बलियो भएर पार्टी बलियो हुँदैन । तर, पार्टी बलियो भयो भने सबै बलिया हुन्छन् ।’ उनले पार्टीभित्र परिवारको प्रमुखता सन्दर्भहीन भएको टिप्पणी गरे । 

 

दनेपाल टपसँग मंगलबार कुरा गर्दै सहमहामन्त्री महतले आफूलाई केन्द्रमा राखेर पार्टीको आदर्श, विचार र उपलब्धिको हेक्का नराख्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । पार्टीको संस्थागत संरचनाभित्रका असमझदारी र असन्तुष्टिलाई पार्टीभित्रै सुल्झाउनुपर्नेमा उनले जोड दिए ।

 

उनले भने, ‘पार्टीभित्र एकथरी कुरा राख्ने र बाहिर मिडियामाझ अर्कोथरी । यो प्रवृत्ति उचित होइन ।’ मिडियाले पनि पार्टी जीवनका धेरै विषयलाई अतिरञ्जित तरिकाले पस्किदिँदा समस्या हुने गरेको उनको कथन थियो । 

कोइराला एकतापछि पार्टी संस्थापन पक्षका नेताहरूले पनि कार्यकर्तामाझ आफूहरू एकढिक्का रहेको सन्देश पुर्याउने कसरत गरिरहेको चर्चाबारे उनले भने, ‘पार्टीमा कोसँग अलिक नजिक र अलिक टाढाका कुरा हुन्छ नै । तर, हामी सबै शक्ति जोडिनुपर्ने पक्षमा छौं ।’

नेविसंघको म्याद थप्न बसेको पार्टी केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मौखिक असहमति जनाए पनि नेताहरू कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले बैठक बहिष्कार गरेको कुरामा सत्यता नरहेको महतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्