अर्टिमको ह्याट्रिक, जिरोना शीर्षस्थानमा उक्लियो



काठमाडौँ । सेभियामाथि ५–१ को सानदार जित निकाल्दै जिरोनाले शीर्षस्थानमा पूनरागमन गरेको हो । त्यसअघि अल्मेरियामाथि ३–२ कोे नाटकीय पूनरागमन जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको थियो । तर, रियल लामो समय शीर्षस्थानमा रहन सकेन ।

घरेलु टोली जिरोना खेलको १०औँ मिनेटमा पछि परेको थियो । इसाक रोमेरोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, सेभियाको अग्रत तीन मिनेट पनि टिकेन ।

मोन्टिलिभी जिरोनामा आइतबार राति भएको खेलमा अर्टिमले ६ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । १३औँ मिनेटमा पहिलो गोल गरेका अर्टिमले १५औँ र १९औँ मिनेटमा ह्याट्रिक पूरा गर्दा जिरोना खेलमा ३–१ ले अघि बढ्यो ।

५६औँ मिनेटमा भिक्टरले साभियोको पासमा गोल गर्दै जिरोनालाई ४–१ ले अघि बढाए । ८९औँ मिनेटमा क्रिष्टियन स्टुएनीले गोल गर्दै जिरोनाको फराकिलो जित सुनिश्चित गरे । यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोनाले २१ खेलमा १६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ ।

यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको २१ खेलबाट ५२ अङ्क पुगेको छ । एक खेल कम खेलेको रियलको ५१ अङ्क छ । पराजित सेभिया १६ अङ्क जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औँ स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्