पुलिसको लगातार छैटौँ जित 



काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौँ जित दर्ता गरेको छ । छैटौँ जित दर्ता गर्ने क्रममा पुलिसले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पुलिसका लागि ओपनर दिलीप नाथले ६२ बलमा ६ चौका र ४ छक्कासहित ७५ रनको अविजित इनिङ खेले । कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै २८ बलमा ३ चौका र ३ छक्का सहित ४३ रन बनाएर आउट भए । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २८ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । अमित श्रेष्ठले १ र आरिफ शेखले ९ रन बनाए । अर्जुन साउद २ रनमा नट आउट रहे ।

कर्णालीका लागि प्रकाश जैशीले २ विकेट लिँदा दिवन पुन र दिपेन्द्र रावतले १-१ विकेट लिए ।  त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीको मध्य क्रम नचल्दा ४२.५ ओभरमा १७१ रनमा समेटियो । कर्णालीका लागि ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए । उनले १०७ बल खेल्दै ६ चौका सहित अर्ध शतक बनाएर ४१औ ओभरमा रनआउट भएका थिए ।

कर्णालीको सुरुवात भने राम्रो रहेको थियो । ओपनरद्वय रबिन्द्र शाही र निश्चल रावल मिलेर पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । कप्तान रबिन्द्रले आक्रामक सुरुवात गरेपनि अर्धशतकदेखि भने चुके । उनी ३५ बलमा ८ चौका र १ छक्का सहित ४० रन बनाउँदै १२औ ओभरमा सागर ढकालको बलमा आउट भए ।

तेस्रो नम्बरमा क्रिजमा आएका बिपिन शाही २० बलमा ४ रन बनाएर १७औ ओभरमा रनआउट भए । हिमांशु शाही पनि ८ रन मात्र बनाएर ललित नारायण राजबंशीको बलमा क्याच आउट हुदै पेभेलियन फर्किए ।

अर्जुन घर्तिले राम्रो सुरुवात गरेपनि २३ रनमा दिपेन्द्र सिंह ऐरिको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए । प्रकाश जैशीलाई सागर ढकालले ५ रनमा बोल्ड गरे ।  दिपेन्द्र रावत १८ बलमा ३ रन बनाउदै कुशल भुर्तेलको बलमा क्याच आउट भए । दिनेश अधिकारीलाई ललित भण्डारीले ३ रनमा आउट गरे । युनिश सिंह पनि उनकै बलमा शुन्यमा आउट भए ।

अन्त्यतिर दिवन पुनले ५ बलमा ३ छक्का सहित २० रनको आक्रामक पारि खेले । उनलाई सागर ढकालले आउट गरेका थिए ।  पुलिसका लागि सागर ढकालले ९।५ ओभरमा ४८ रन खर्चिँदै ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ तथा दिपेन्द्र सिंह ऐरि, ललित राजबंशी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।

नेपाल पुलिस क्लब ६ खेलमा सतप्रतिशत नतिजा सहित १२ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । कर्णाली भने ७ खेलमा ३ जित र ४ हारमा ६ अंक सहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्