उर्लाबारीमा लागेको आगो नियन्त्रणबाहिर, बस्ती नै जाेखिममा पर्ने खतरा



विराटनगर : मोरङको उर्लाबारी नगरपालिका ७ इटहरा रोडमा भइरहेको आगलागी नियन्त्रणबाहिर गएको छ । स्थानीय भक्ति अधिकारीको घरबाट सल्केको आगो नियन्त्रणमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

 

आगो नियन्त्रणकै लागि विभिन्न ठाउँबाट पाँच वटा दमकल पुगेका छन् । स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणको प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको स्थानीय कविता बस्नेतले जानकारी दिइन् । उनका अनुसार आगो नियन्त्रण हुन नसकेपछि र अन्य घर समेतमा सल्किने सम्भावना बढेको छ ।

 

छेउमा रहेको एउटा घर भत्काइएको छ । उनले दिउँसोको समयमा एक्कासि घुवाँको मुस्लो निस्किएपछि स्थानीय बासिन्दाले हेर्दा आगो लागेको थाहा पाएको बताइन् ।

 

आगोले अधिकारीको घर पूर्ण रुपमा ध्वस्त भइसकेको छ । अन्य घरतर्फ सल्किने क्रममा रहेको आगो नियन्त्रणको प्रयास भने जारी राखिएको प्रहरीले जनाएको छ । ताला लागेको र कोही पनि मानिस नभएको अवस्थामा रहेको घरबाट आगो सल्किएको हो ।

 

आगो लाग्नुको कारण भने पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार काठले बनाइएको र कर्कटपाताले छाएको घरमा आगो लागेको हो । 

 

प्रतिक्रिया दिनुहोस्