
जनकपुरधाम : नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको नाममा रहेको जग्गा पुजारीले हडपेका छन् ।
विद्यापीठको अढाई बिघा जग्गाको नक्कली लालपुर्जा बनाउने रत्नसागर मन्दिरका पुजारी अशोक शर्मालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार शर्मामाथि सरकारी किर्ते मुद्दा चलाइएको छ ।
विद्यालयको जग्गा किर्ते गरी बेच्ने मनसाय बनाएका आरोपीलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई भेटेरै विद्यापीठका प्राचार्य विजय चौधरीले रत्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवको योजनामा पुजारी शर्माले नक्कली लालपुर्जा बनाएको आरोप लगाए ।
पछिल्लो पटक सार्वजनिक लालपुर्जामा जग्गाधनी महलमा रत्नसागर गुठीका महन्थ बैकुण्ठ दासलाई संरक्षक महलमा तथा मोही महलमा सोही मठका पुजारी शर्माको नाम उल्लेख छ ।
नक्कली लालपुर्जा छानबिन गर्न विद्यापीठले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको मुद्दा छानबिनका क्रममा मोही महलमा नाम उल्लेख भएका शर्मा पक्राउ परेका हुन् । तर, जग्गाधनी महलमा नाम रहेका रत्नसागर मठमा महन्थ दासलाई भने कारावाहीको दायरामा ल्याइएको छैन ।
‘मोहीले त सीमित अंश पाउने हो । मुख्य अंशियारमाथि पनि कारवाही हुनुपर्छ,’ प्राचार्य चौधरीले भने । उनका अनुसार २०५० सालदेखि विद्यालयको भोगचलनमा रहेको जनकपुर–८ स्थित सिट नम्बर १३५४ र १४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर तथा सिट नम्बर १३५४ र १५ को कित्ता नम्बर १, २, २८ तथा ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा फर्जी लालपुर्जा बनाएर पुजारी शर्माले बेच्न खोजेका थिए ।
जनक हजारी विद्यापीठको नाममा रहेको जग्गा