यू-१९ का खेलाडीले पाए जनही तिन लाख पुरस्कार



काठमाडौँ । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् । नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको हो ।

टिमका १४ खेलाडी र ३ व्यवस्थापकीय टिमले आइतबार मन्त्रालयमा पुरस्कार प्राप्त गरेका हुन् । खेलाडीले जनही ३ लाख रुपैयाँ पाएका छन् । प्रमुख प्रशिक्षक जगत टमाटाले २ लाख रुपैयाँ र टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवाले जनही १ लाख पाएका छन् ।

खेलकुद मन्त्रालयले पोहोर फागुनमा विश्वकप छनोट भएपछि खेलकुद पुरस्कार अनुसूची अनुरूप घोषणा गरिएको रकम खेलाडीलाई हस्तान्तरण गरेको हो । यू–१९ टिमले विश्वकप छनोट बापत नेपाल क्रिकेट सङ्घ (क्यान)बाट घोषणा भएको १ लाख रुपैयाँ भने गत बिहीबार नै पाएको थियो ।

नेपाल सरकार र क्यानले गत फागुनमा विश्वकप छनोट भएपश्चात् युवा टोलीलाई पुरस्कारको घोषणा गरेको थियो । अब यू–१९ टिमले एसिया कप छनोट भयबापत क्यानले घोषणा गरेको ५० हजार रुपैयाँ पाउन बाकी रहेको छ ।

देव खनाल (कप्तान), दिपेश प्रसाद कंडेल (उपकप्तान), दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम के.सी र मिलन बोहराले जनही तिन लाख रुपैयाँ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्