सुर्खेत : नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिपक्ष कमजोर भएकै कारण सरकारले मनलाग्दी गरिरहेको बताए । बहुमत प्राप्त सरकारलाई अनुचित दिशामा जानबाट खरबरदारी गर्नुपर्ने मुख्य दायित्व प्रतिपक्षको भएपछि आफूहरूले त्यसको भूमिका प्रभावकारी रूपमा देखाउन नसकेको उनको भनाई छ ।
‘सरकारले गरेका जनविरोधी कार्य विरुद्ध प्रतिपक्षको भूमिका प्रभावका हुन सकेन,’ मंगलबार वीरेन्द्रनगरमा कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार गठन भएयता उसले गरेका अनुचित कार्यहरूको जति डटेर प्रतिपक्ष भूमिका खेल्नुपर्ने हो त्यो हुन नकिरहेको छैन ।’
उनले पार्टी आन्तरिक समस्या समाधानमै लाग्नुपरेकाले पनि आवश्यकता अनुसारको खबरदारी गर्न नसकेको उल्लेख गरे । पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले सरकारको वर्तमान कार्यशैली तानासाही रहेको आरोप लगाए ।
यस्तै उनले आगामी महाधिवेशनलाई केन्द्रित गरी प्रत्येक प्रदेशमा राजनीतिक मस्यौदा तथा आगामी कार्यदिशाका विषयमा पार्टीले सुझाव लिइरहेको बताए । उनले आगामी महासमिति बैठकपछि पार्टीबाट जनताका निम्ति नयाँ उपलब्धिमूलक निर्णयहरू बाहिरिने बताए ।
आगामी महासमिति बैठकमा कांग्रेसले तीन वटै निर्वाचनमा पराजय हुनुको कारण र आगामी दिनमा पार्टीलाई बलियो रूपमा खडा गर्ने विषयमा गम्भीर छलफल हुने नेता पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए ।