विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७, इटहरा रोडमा भएको आगलागी साँझ ५ बजे नियन्त्रणमा आएको छ । भक्तिराम अधिकारीको घरबाट मंगलबार दिउँसो साढे २ बजेदेखि आगलागी सुरु भएको थियो ।
आगलागीमा ६० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय कविता बस्नेतका अनुसार घरमा कोही पनि नभएको अवस्थामा लागेको आगो नियन्त्रण गर्न अढाई घण्टा बढी समय लागेको थियो । उनले आगो निभाउन खटिएको प्रहरीले उच्च सावधानी अपनाएका कारण अन्यत्र आगो भने फैलन नपाएको र ठुलो क्षति हुनबाट जोगिएको बताइन् ।
आगोले इँटा र ढुङ्गाले बनेको दुई तले घर पूर्ण रुपमा जलेको छ । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेको छ ।
घर धनी अधिकारीले पसलमा भएका सबै सामान, १२ हजार रुपैयाँ नगद, दुई तोला सुन, काठ पात, लत्ताकपडा, खाद्यान्न लगायतका ५० लाख भन्दा बढीको सामान जलेको बताए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाकाअनुसार आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि सामान्य क्षति पुग्दा एक लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
घरमा रहेको ग्यास सिलिन्डर पड्किदा आगो नियन्त्रणमा निक्कै समस्या परेको प्रहरीको भनाइ छ । प्रहरीले विभिन्न ठाउँका दमकललाई तत्काल खबर गरेपछि समयमै दमकल घटनास्थल पुगेका कारण ठुलो क्षति भने हुन नपाएको तिमल्सिनाले बताए ।
उनका अनुसार आगो नियन्त्रणका लागि दमक, गौरीगन्ज, इटहरी, बेलबारी समेतका ६ वटा दमकल पुगेका थिए । आगो नियन्त्रण गर्न सशस्त्र प्रहरी सहित इलाका प्रहरी कार्यालय उर्लाबारी, उपथरीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
उर्लाबारी नगरपालिकामा एउटा दमकल समेत छैन ।