मोरङमा ट्रक पल्टिदा किचिएका ३ बालबालिकाको मत्यु



काठमाडौँ । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । मृतक मध्ये दुई जना एकै परिवारका रहेका छन् । घटनामा परी एक जना घाइते  रहेका छन् ।

शुक्रवार बिहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुङ्गाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन् । ढुङ्गाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।

शुक्रवार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुङ्गा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो । पल्टिएको लहरीमा लोड गरिएको ढुङ्गाले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्