ग्रील तथा स्टील व्यवसायीहरूलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड



काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरूलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो बताएका हुन् ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन सके मात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरूको प्रवर्द्धन गर्न जरुरी भएको बताए ।

लघु घरेलु तथा साना उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउन नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र ग्रील तथा स्टील व्यवसायी महासङ्घसँग आगामी दिनमा सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताए ।

ग्रील तथा स्टील व्यवसायी महासङ्घका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरूमा उद्योग दर्ता र नवीकरण प्रक्रिया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन आग्रह गरे ।

कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरूमा परेको आर्थिक समस्याको समाधानार्थ बैङ्कको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विना धितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उनले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसयीहरुले आयत गर्ने ठुला एवं साना मेसीन औजारहरूमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसायी महासङ्घमा आवद्ध ११ हजार व्यवसायीहरूको हक हितका निमित्त स्थापित एक मात्र छाता सङ्गठन हो । यो क्षेत्रमा कार्यरत दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरूलाई प्रत्यक्ष एवं परोक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पूर्वाधार विकासमा आवश्यक पर्ने र गृहस्त जीवनमा नभई नहुने सम्पूर्ण ग्रील जन्य सामानहरू फेब्रिकेटिङ्ग गरेर आयातलाई प्रतिस्थापन गरी निर्यात तर्फ उन्मुख रही पूर्वाधार निर्माण तथा विकास निर्माणमा सक्रिय योगदान पु¥याइ रहेको उनले बताए ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपालभर सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो सङ्गठन विस्तार गरी सञ्जाल बनाउन अगाडी बढीराखेको ग्रील तथा स्टील उद्योग व्यवसायीहरूको पेसागत हकहित एवं मर्यादित व्यवसायको निमित्त समर्पित नेपाल घरेलु तथा साना उद्योग महासङ्घको वस्तुगत सदस्य हो ।

प्रतिक्रिया दिनुहोस्