मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो वार्ता टोली 



काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारले बोलाएको वार्तामा जाने भएका छन् । गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर उनीहरूलाई वार्तामा बोलाएको हो।

देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पीडितहरू यति बेला सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका लागि विभिन्न जिल्लाबाट एक हजार जनाको हाराहारीमा पीडितहरू काठमाडौँ आएका हुन् । उनीहरू भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले सिंहदरबार मार्च पास गर्नुका साथै विरोध सभा समेत आयोजना गर्दै आएका छन् । उनीहरूको आन्दोलनलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्