विराटनगर : काठमाडौंबाट मात्र हुँदै आएको माउण्टेन फ्लाइट (पर्वतीय उडान) अब प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि हुने भएको छ । यहाँका पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीले चार्टर गरेर यही शनिबारबाट माउण्टेन फ्लाइटको नियमित उडान सुरु गर्ने भएका हुन् ।
मंगलबार पत्रकार सम्मेलन गरी विराट होलिडे प्रालिले प्रत्येक साताको शनिबार बिहान साढे सात बजेदेखि नियमित माउण्टेन फ्लाइट गराउने जानकारी दिएको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नियमित रुपमा पहिलो पटक विराटनगरबाट माउण्टेन फ्लाइट सुरु गर्न लागेको विराट होलिडे प्रालिका अध्यक्ष भविस श्रेष्ठले बताए ।
यति एयरलाइन्सले गर्ने उडानमा एक पटकमा १९ यात्रु माउण्टेन फ्लाइटमा जान सक्नेछन् । विराटनगर विमानस्थलबाट हुने उडानमा एक जनाको नौ हजार नौ सय रुपैयाँ लाग्नेछ ।
माउण्टेन फ्लाइट सञ्चालनमा आएपछि भारतको बिहार, सिक्किम स्वदेशको लहान, विराटनगर, इटहरी, दमक, बिर्तामोड लगायतका पर्यटक आउने अपेक्षा गरिएको छ ।
माउण्टेन फ्लाइटबाट प्रदेश १ भित्रै पर्ने आठ हजार मिटर माथिका हिमश्रृंखलाको अवलोकन गर्न सकिने छ । फ्लाइटका लागि विराटनगर आधार क्षेत्र रहेका ट्राभल एजेन्सीहरूले टिकट विक्री गर्नेछन् ।