कञ्चनपुरमा युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ



काठमाडौँ । कञ्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुन्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या अभियोगमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका हुन् ।

वडाध्यक्षसँगै स्थानीय सुकदेव राना, भङ्गी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज रानालाई पनि पक्राउ गरिएको हो । मृतकका बुवाले वडाध्यक्षसहितका ६ जनाको समूहले छोराको हत्या गरेर आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए । सोही किटानीका आधारमा अनुसन्धानका लागि उनीहरू सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ । पक्राउ परेका ६ जना नै घटना भएको दिन मृतक रानासँगै रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्