१२ वर्षीया गर्भवती गंगा चेपाङलाई काठमाडौं लगियो



हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया गंगामाया चेपाङ आमा बन्न लागेसँगै सोमबार हेटौंडा अस्पताल ल्याइएको थियो ।

आमा बन्न लागेको खबरसँगै प्रधानमन्त्री कार्यालयले गंगामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङको समन्वयमा सोमबार साँझ हेटौंडा अस्पताल ल्याइएको हो । 

तर, हेटौंडाका चिकित्सकले थप उपचारका लागि उनलाई मंगलबार काठमाडौं रिफर गरेका छन् । प्रसुति हुने बेलामा केही समस्या आउँदा अन्यत्र लैजाँदा जोखिम हुने भन्दै काठमाडौं लगिएको राक्सिराङ स्वास्थ्य चौकीका अहेव प्रकाश कार्कीले जानकारी दिए । 

उनका अनुसार भिडियो एक्सरेको रिर्पोट हेर्दा हालसम्म कुनै प्रकारको समस्या छैन । अझै एक महिना प्रसुति हुने समय रहेकाले बच्चा बढ्ने हुनाले समस्या आउन सक्छ भनेर सुविधा सम्पन्न अस्पतालका लागि थापाथली प्रसुति गृह लैजान लागिएको काठमाडौं लगिएको हो । 

गंगामायाको साथमा उनका श्रीमान्, माइतीआमा र अहेव कार्की रहेका छन् । राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको असफल भएको थियो । 

हेटौंडा अस्पतालमा गंगामायाको प्रारम्भिक जाँच गरिएको थियो । उपचारमा संलग्न चिकित्सक निशा राईले बाल्यावस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्