सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द, बेहुलासहित आठ जना पक्राउ



काठमाडौँ । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठ जना पक्राउ परेका छन् । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो । बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विवाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको र उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जनाएको छ ।  बेहुली पक्षका अनुसार बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्