मीन सङ्क्रान्तिको दिन आज सूर्य भगवानको पूजा गर्नुहोस्



सूर्य भगवान

काठमाडौँ । ज्योतिष शास्त्र अनुसार सूर्य भगवान् हरेक महिना एउटा राशि छोडेर अर्को राशिमा प्रवेश गर्नुहुन्छ। प्रत्येक महिना सूर्य देवताको एक राशिबाट अर्को राशिमा हुने क्रमलाई सङ्क्रान्ति भनिन्छ। आज सूर्य भगवान् मीन राशिमा गोचर हुने भएकाले आज मीन सङ्क्रान्तिको दिन हो । सूर्य देवको मीन राशिमा प्रवेश गरेसँगै खरमास पनि सुरु हुनेछ जुन एक महिनासम्म रहनेछ। मीन सङ्क्रान्तिको दिन पवित्र नदीमा स्नान गरी सूर्यदेवको पूजा गर्ने हिन्दु धर्ममा विशेष महत्त्व रहेको छ । यस दिन दान गर्नाले देवीदेवताबाट विशेष आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

महिनाको प्रथम दिनलाई सङ्क्रान्तिका रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने सङ्क्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सङ्क्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक सङ्क्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्