स्थानीय विकासको माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी



कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडांडी गाउँपालिका कार्यालयमा स्थानीय महिलाले तालाबन्दी गरेका छन् । स्थानीय सरकारले विकासमा ध्यान नपुर्‍याएको भन्दै महिलाहरू आन्दोलनमा आएको कांग्रेसकी स्तथानीय नेतृ शान्ति नाथले बताइन् । 

गाउँपालिकामा विद्युत् महसुल काउन्टर स्थापना गर्नुपर्ने, छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने, बेलडांडी स्वास्थ्य केन्द्रमा एम.वि.वि.एस. चिकित्सक हुनुपर्ने लगायतका माग राखेर उनीहरूले तालाबन्दी गरेका हुन् । 

उल्लिखित विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको नेतृ नाथको भनाई छ । 

यता, तालाबन्दीका कारण सेवाग्राही भने मर्कामा परेका छन् । विभिन्न सेवा लिनको लागि आएका सेवाग्राही काम नभएपछि निराश भएर फर्किएका थिए । 

गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा भने काम विशेषले गाउँबाहिर गएका छन् । गाउँपालिकाले विद्युत् महसुल काउन्टर स्थापनाका लागि केही दिनमै काम सुरु गर्ने तयारी गरेको जनाएको छ । साथै, अन्य मागका सम्बन्धमा पनि छलफल भइरहेको समयमा कार्यालयमै तालाबन्दी गर्नु जायज नभएको अध्यक्ष थापाका सल्लाहकार कृष्ण रोकायाले बताए । 

 

प्रतिक्रिया दिनुहोस्