
काठमाडौं : वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।
अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।
अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको उनको आरोप छ ।
मन्त्रालयका अधिकारीहरुले भने प्रा. डा. अधिकारी सरकारले खटाएको ठाउँमा नगएको बताएका छन् ।
वीरमा दरबन्दी खाली नभएपछि एक वर्ष अगाडि नै उनलाई गञ्डकी अञ्चल अस्पताल, पोखरामा सरुवा गरिएको थियो । तर, उनी हाजिर नै भएनन् । अटेर गरेर वीरमा बसेका कारण उनले एक वर्षको तलब समेत नपाएको मन्त्रालयले जनाएको छ । अहिले भने वीरमा नवौं तहको दरबन्दी खाली छ ।