पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पूर्जी



काठमाडौं: जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरेको छ। पुल निर्माण पाएको ठेक्का समयमा नै नसक्दा दुर्घटनाको घटना भएको भन्दै अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए। पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए।

रौतहटको लालबकैया नदीमा भदौको पहिलो साता भएको डुङ्गा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। नदीमा पुल नबन्दा दुर्घटना भएको भन्दै स्थानीय आक्रोसित बनेका थिए। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो।

 

 जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो।  'पटकपटक बोलाउँदा पनि कोही सम्पर्कमा आएनन्,' एसपी केदार ढकालले भने, 'त्यही भएर पक्राउ पूर्जी जारी गरिएको हो।'

अदालतले सोमवार पुर्जी जारी गरेको छ। प्रहरीले आज रौनियारलाई खबर गर्दा नआए प्रहरी टोली पठाएर पक्राउ गर्ने तयारी गरेको छ।  पप्पु कन्स्ट्रक्सनले देशभरि लिएका अधिकांश निर्माण कार्य पूरा नगरेको, गरेको ठाउँमा पनि गुणस्तर काम नभएको आरोप लाग्दै आएको छ।

 

अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्