अवरुद्ध इन्टरनेट चल्न थाल्यो 



काठमाडौँ । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरूले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । बिहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरिदिएका थिए । त्यसबाट सेवाग्राहीहरू मर्कामा परेका थिए ।

बिहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न अनुरोध गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै उक्त अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको हो।

नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्दछन् र नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम बुझाएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् । उनीहरूले दूरसञ्‍चार प्राधिकरणले मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ ९ग्रामीण दूरसञ्चार विकास कोष० दस्तुर मात्र बुझाउँदै आएका छन् ।

सरकार र इन्टरनेट सेवा प्रदायकबीचको यही विवादका कारण अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले भुक्तानी पाएका छैनन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने चेतावनी दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्